कलाकारितामा भविष्य बनाउन चाहने भारतीयहरुका लागि स्वप्न नगरी हो मुम्बई । संसारको दोस्रो ठूलो फिल्म उद्योग बलिउडमा जम्ने सपना बोकेर कयैन् नेपाली कलाकारहरुले पनि मुम्बईमा संघर्ष गरेका छन् । तर, एकाधलाई मात्र मुम्बईले सपना साकार हुने मौका दियो । यही मुम्बईमा एक नेपाली अभिनेत्रीले पनि वर्षौंदेखि संघर्ष गरिरहेकी छन् र सफलताको सिढी चढ्दै गएकी छन् ।
ती अभिनेत्री हुन्, निरिशा बस्नेत । नेपाली फिल्म ‘जानी नजानी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले त्यसअघि नै भारतका केही सिरियलमा काम गरिसकेकी थिइन् । उनले ‘चन्द्र नन्दिनी’, ‘अलादिन’, ‘तेनाली रामा’लगायतका सिरियलमा महत्त्वपूर्ण भूमिका निभाएकी छन् । यस्तैमा, उनी अभिनीत एक नयाँ हिन्दी वेब सिरियलको प्रतिष्ठित ओटीटी प्लेटफर्ममा प्रशारण सुरु भएको छ ।
उनी अभिनीत सिरिज ‘आशिकाना’को दोस्रो सिजनका श्रृंखलाहरु १० अक्टोबरबाट सोमवार र शनिवार डिज्नी हटस्टारमा प्रशारण हुँदै आएका छन् । यसको अघिल्लो सिरिज सफल भएको थियो । क्राइम, रोमान्स, थ्रिलर जनरामा निर्माण भएको सिरिजलाई गुल खानले निर्देशन र निर्माण गरेका हुन् । निर्माण टिमले जारी गरेको सिरिजको एक पोस्टरमा निरिशा पेस्तोल बोकेर फिचर छिन् ।
सिरिजमा निरिशासँगै जैन इबाद खान र खुसी दुवेको पनि मुख्य भूमिका छ । निरिशाको पहिलो नेपाली फिल्म ‘जानी नजानी’ले दर्शकको साथ पाउन सकेको थिएन । यद्यपि, उनको अभिनय रुचाइएको थियो । डेब्यू फिल्मको असफलतापछि हच्किएकी उनी अब राम्रो ब्यानर र स्क्रिप्टबाट मात्र नेपाली फिल्ममा कमब्याक गर्न सोचमा छिन् । उनी, पुराना नायक विश्व बस्नेतकी छोरी हुन् ।