विजयादशमीको समयमा प्रदर्शनमा आएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ले प्रदर्शनको दुई हप्ता बक्सअफिसमा बलियो उपस्थिति जनायो । पहिलो हप्ताकै कमाईबाट लगानी उठाएको फिल्मले यतिबेला निर्मातालाई मुनाफा दिइरहेको छ । शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन थालनी गरेको फिल्मलाई अहिले पनि दर्शकको अभाव छैन । मल्टीप्लेक्सहरुमा शो संख्या पनि उल्लेख्य छ ।
हलमा सफलतापूर्वक प्रदर्शन भइरहेको ‘२ नम्बरी’लाई निर्माताले छायांकन भएको ल्वाङ गाउँमा प्रोजेक्टरमार्फत् देखाएका छन् । फिल्मको सम्पूर्ण छायांकन कास्कीको ल्वाङ गाउँमा भएको थियो । हलको सुविधा नभएकाले फिल्म हेर्न नपाएका स्थानीयलाई निर्माण टिमले बिहीवार फिल्म देखाएको हो । उक्त फिल्म हेर्न ल्वाङ गाउँका २ सयभन्दा बढी स्थानीयहरु सहभागी भएका थिए ।
फिल्म देखाउन निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका थिए । फिल्मको पर्दामा आफ्नै गाउँका दृश्यहरु हेर्न पाउँदा स्थानीयले उत्साह व्यक्त गरेको निर्माता नेपालीले बताए । उनले भने- ‘फिल्म सफल भएपछि हामी यहाँका स्थानीय बासिन्दालाई धन्यवाद दिन र फिल्म देखाउन पुगेका हौं । स्थानीयको सहयोगले नै फिल्मको छायांकन गर्न सजिलो भएको थियो ।’
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ, पुकार गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, सुष्मा निरौला, कविता आले, प्रकाश घिमिरे, स्वर्गीय जयनन्द लामालगायतको अभिनय रहेको छ । फिल्ममा दयाहाङ र सौगातको केमेस्ट्रीलाई दर्शकले सर्वाधिक रुचाएका छन् । त्यस्तै, यो फिल्मबाट सबैभन्दा बढी प्रशंसा सौगात र उपासनाले कमाएका छन् ।