‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को भव्य फाइनल अमेरिकाको कोलम्बस शहरमा आयोजना गरिएको छ । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना गरिएको दुवै रियालिटी शोको कोलम्बस शहरमा आयोजना भएको फाइनलमा ‘मेरो डान्स कप यूएसए’को उपाधि रेनुका राईले जित्न सफल भएकी छिन् । उनले, ताजसँगै १० हजार डलर र टोयोटा र्याभ फोर गाडी प्राप्त गरेकी छिन् । यस्तै, ‘मेरो भ्वाइस कप’को उपाधि भने प्रवीण बर्देवाले जितेका छन् । उनले पनि १० हजार डलर पुरस्कार र टोयटाको गाडी प्राप्त गरेका छन् ।
‘मेरो डान्स कप’को फस्ट रनरअप आयुषा समाल हुन सफल भएकी छिन् भने सेकेन्ड रनरअप सुमिका तामाङले जितेकी छिन् । ‘मेरो भ्वाइस कप’ तर्फ भने फस्ट रनरअप करण तामाङ बनेका छन् भने सेकेन्ड रनरअपको उपाधि सितल शर्माले जितेकी छिन् ।
‘मेरो भ्वाइस कप’का विजेतालाई इन्ट्रा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार प्रदान गरेका थिए । यस्तै, ‘मेरो डान्स कप’का विजेतालाई नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँइले पुरस्कार प्रदान गरेका थिए ।
दर्शकहरुको भोटिङका आधारमा विजेता छनोट गरिएको हो । फाइनल प्रतियोगीतामा दर्शकहरुको बाक्लो भिड थियो । शोमा बरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायकहरु नरेन्द्र प्यासी, केशव पौडेल, मनोजराज सिवाकोटी, सुजाता बर्मा, अर्जुन रसाइली, जगदीश समाल लगायतले आफ्नो प्स्तुति दिएर दर्शकलाई नचाएका थिए । यस्तै, कार्यक्रममा कलाकारहरु साराङ्गा श्रेष्ठ, दिलिप रायमाझी, केकी अधिकारीले नृत्य प्रस्तुत गरेका थिए ।