दीपेन्द्र के. खनालले निर्देशन गर्न लागेको चलचित्र ‘चङ्गा चेट २’मा अभिनेता विपिन कार्की भित्रिएका छन् । बिहीवार उनीसँग निर्मात्री शर्मिला पाण्डेले कागजी सम्झौता गरेकी हुन् । यसअघि उनीहरुबीच ‘पशुपति प्रसाद’ र ‘के घर के डेरा’मा सहकार्य भएको थियो ।
चलचित्रको छायांकन तिहारपछि सुरु गर्ने तयारीमा दीपेन्द्र छन् । यो अवधिमा विपिनले चलचित्र ‘फूलबरी’, ‘प्रसाद २’ र बलिउड चलचित्र ‘एनिमल’को छायांकन सक्ने छन् । चलचित्रमा यसअघि अभिनेता अर्पण थापा अनुबन्ध भइसकेका छन् । निर्देशक खनाल यतिबेला स्क्रिप्ट लेखनमा व्यस्त छन् ।
२०७५ सालमा प्रदर्शन भएको ‘चङ्गा चेट’लाई माधव वाग्लेले निर्माण गरेका थिए । तर, चलचित्र प्रदर्शनको समयमा उनलाई आर्थिक समस्या उत्पन्न भएपछि निर्माताको रुपमा पाण्डे जोडिएकी थिइन् । उनले निर्माता वाग्लेबाट चलचित्रको सम्पूर्ण अधिकार लिएर ‘चङ्गा चेट २’ बनाउन लागेकी हुन् । दीपेन्द्रले यसपटक गम्भीर कथालाई रमाइलो र व्यावसायिक रुपले प्रस्तुत गर्ने तयारी गरेका छन् ।