प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचित्र ‘प्रेमगञ्ज’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘फेरि भेट होला नहोला’ बोलको गीतलाई लिरिकल भिडियोको रुपमा सार्वजनिक गरिएको हो ।
कृष्णहरि बरालका शब्दहरुको यो गीतमा गैरे सुरेशको संगीत निर्देशन छ । यो गीतमा स्वेच्छा ठकुरी र प्रविण बेडवालको स्वर रहेको छ । चलचित्रमा तेज गिरि, बेनिशा हमाल, राइडर प्रशन, सुप्रिया खनाल, सिमरन खड्का आदि कलाकारले अभिनय गरेका छन् ।
तेज र बेनिशाले युवा उमेरको मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन, सुप्रिया र सिमरनले टिनएजर मैना राजाको भूमिका निर्वाह गरेका छन् ।
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद स्वयंले लेखेका हुन् । यो चलचित्र भदौ ३ गते नेपाललगायत भारतका केही शहरहरुमा एकसाथ प्रदर्शन हुँदैछ ।
यो सँगै चलचित्र युरोपका ४४ देशका सिनेमाघरमा पनि रिलिजको तयारी भइरहेको निर्माण टिमले जनाएको छ । अर्जुन जीसीको सम्पादन र सञ्जय लामाको छायांकन रहेको चलचित्रमा नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, पवन भट्टराई आदिको पनि अभिनय रहेको छ ।
चलचित्रमा किरण भुसाल, पुरुषोत्तम ढुंगेल, गैरे सुरेश र सरोज पोखरेलको संगीत रहेको छ ।