अष्ट महर्जनको निर्देशित चलचित्र ‘गुञ्जन’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले सोमबार चलचित्र हेरेर सबैले हेर्ने मिल्ने ‘युनिभर्सल प्रमाण पत्र’ दिएको हो । सेन्सर बोर्डका सदस्यले चलचित्रको प्रशंसा समेत गरेको निर्देशक महर्जनले बताए ।
आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र विशुद्ध प्रेमकथामा निर्माण भएको हो । सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको चलचित्रमा अभिनय देख्न सकिन्छ । प्रितमराजले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।
विगत २ दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
काठमाडौं, पोखरा, जोमसोममा र दुबईमा छायांकन भएको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । चलचित्रमा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत राखिएको छ । चलचित्रका वितरक काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनी गरेका छन् ।