सांस्कृतिक संस्थानमा आइतबार सम्पन्न ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७÷७८’मा निशान खत्रीले बाजी मारेका छन् । नाटक ‘चक्र’ (आरु फुल्यो)मार्फत् उनले पहिलो स्थान हासिल गर्दै एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा निर्मल सुवेदीको नाटक ‘अधुरो इच्छा’ र लक्ष्मी पाण्डेको नाटक ‘१५ दिन’ क्रमश दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए । सुवेदीले ५० हजार र पाण्डेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
सांस्कृतिक संस्थानले आयोजना गरेको प्रतियोगितामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा प्रमूख निर्णायक एवं वरिष्ठ रंगकर्मीद्धय राजेन्द्र शलभ र पुस्कर गुरुङ निर्णायक रहेका थिए । प्रतियोगितामा रमिक ठकुरीको नाटक ‘बुढेसकालको साहारा’ (गोठको चिया) र सुस्मिता श्रेष्ठको नाटक ‘बा.रा.सी’ले सान्तवता पुरस्कार स्वरुप जनही १५।१५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ देश विदेशमा रहेका प्रतिभावान नाट्य कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरेको संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए । ‘नाट्य क्षेत्रमा भविश्य खोजीरहेका प्रतिभाहरुलाई राष्ट्रिय मञ्च एवं अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो’, महाप्रबन्धक राईले भने, ‘प्रतियोगितामा उत्साहजनक सहभागिता रहयो । अर्को संस्करण अझ परिस्कृत र व्यापक रुपमा आयोजना हुने छ ।’
प्रतियोगितामा सहभागी नाटकमध्ये पहिलो चरणमा ११ वटा नाटक छनोट भएका थिए । ति ११ वटा नाटकलाई सांस्कृतिक संस्थानको युट्यव च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको थियो । दर्शकबाट सर्वाधिक लाइक र सेयर भएका एवं निर्णायकले दिएको अंकका आधारमा ११ बाट उत्कृष्ट ५ नाटक छनोट गरिएको थियो ।
नेपाली वा आफ्नो मातृभाषा प्रयोग गर्न सकिने यस प्रतियोगितामा देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कनेजस्ता विषय मान्य नहुने प्राव्धान राखिएको थियो ।