गायक योगेश्वर अमात्य तथा संगीतकार न्ह्यू बज्राचार्यले जुजु फाउण्डेसनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको गल्फुटारमा रहेको फाउण्डेसन उद्घाटन गर्दै उनीहरूले सफलताको शुभकामना दिए ।
गायक अमात्यले आफूले १३ वर्षको उमेरदेखि गायन गाउन थालेको गरेको भए पनि नजिकै संगीत विद्यालय नहुँदा निकै कठिन परिस्थितिको सामना गर्नु परेको अनुभव सुनाए । तर, अहिले यसरी जुजु फाउण्डेसनजस्ता संगीत साधानमा लाग्ने संस्था खुल्दा यसले आर्थिक अभावमा परेका तर कला र प्रतिभा भएकाहरूलाई सजिलै बाहिर ल्याउन मद्दत गर्ने बताए ।
संगीतकार बज्राचार्यले जुजु फाउण्डेसनले अधिकतम आफ्नो खर्चमा संगीत सिकाउने र म्युजिक भिडियो बनाएर बजारमा ल्याइदिने कदमले लुकेको प्रतिभा सहजै बाहिर ल्याउन सहजीकरण गरिदिने बताए ।
फाउण्डेसनका अध्यक्ष तथा गायक एवंम संगीतकार सुशील श्रेष्ठ ‘जुजु’ ले संगीतमा विशेष रुची राख्ने, तर आर्थिक अवस्था नाजुक भएकाहरूलाई फाउण्डेसनले सहयोग गरेर अडियो र भिडियो बनाउन मद्दत गर्ने प्रतिवद्धता जनाए ।
गैर नाफामुलक हिसाबले संचालनमा ल्याइएको फाउण्डेसन गरिब, असहाय र संगीतमा रुचि राख्ने जो कोहीका लागि पनि एउटा गन्तव्य बन्न सक्ने गायक जुजुको विश्वास छ । फाउण्डेसन करिब ५० लाखको लागतमा सञ्चालनमा ल्याइएको हो । उक्त अवसरमा जुजु क्रियशन स्टुडियोको पनि शुभारम्भ गरिएको थियो ।
गायक तथा संगीतकार जुजुको माइतीको आँगन, सुन न, आमा लगायतका गीतहरूले चर्चा कमाएका छन् । जुजु फाउण्डेसनले निर्माण गरेका भिडियोहरू फाउण्डेसनकै आफ्नै अफिसियल च्यानल जुजु क्रियशनबाट बजारमा ल्याइने गायक सुशील श्रेष्ठले जानकारी दिए ।