चलचित्र ‘सम्झना-बिर्सना’ शुक्रबारदेखि दोस्रो सातामा प्रबेश गरेको छ । निमेष प्रधान निर्देशीत चलचित्र गत शुक्रबार अर्थात ३१ असारदेखि देशब्यापी प्रदर्शनमा छ । चलचित्रले एक सातामा कुल दुई करोड १८ लाख रुपैयाँ ग्रस गरेको जानकारी निर्माण पक्षले दिएको छ ।
रेबिका प्रधान र अद्वितिय प्रधानले निर्माण गरेको चलचित्रले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा रहेको चलचित्र राजधानी र उपत्यकाका मल्टिप्लेक्स तथा सिंगल थिएटरमा दोस्रो सातामा समेत उत्साहजनक रुपमा प्रदर्शन भइरहेको जानकारी निर्देशक प्रधानले दिनुभएको छ ।
निर्देशक प्रधानकै लेखन रहेको चलचित्रमा आकाश, पूजा र छुल्ठिमबीचको त्रिकोणात्मक प्रेमका साथै दार्जिलिङको चिया बगानमा कार्यरत मज्दुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई प्राथमीकताका साथ प्रस्तुत गरिएको छ । चलचित्रको कार्यकारी निर्माता सुवास भुर्तेल हुनुहुन्छ ।
दार्जिलिङ, सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको चलचित्र आरआर फिल्मस्ले बितरण गरेको हो । शिब ढकालको छायांकन, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल, निमेष प्रधानलगायतको सङ्गीत रहेको चलचित्र १६ सेक्टेम्बरबाट भारतका बिभिन्न शहरमा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको खबर निर्माता आद्वितियले दिनुभएको छ ।
प्रदर्शनको दोस्रो दिन अर्थात गत शनिबार फिल्मको शीर्ष गीत ‘सम्झना बिर्सना…’ सार्वजनीक गरिएको थियो । अगाडिका दुई गीत ‘परेलीमा लुकाउछु…’ र ‘हाँस्ने खेल्ने बेलैमा…’ झै दर्शक/स्रोताले शीर्ष गीत पनि मन पराइरहेका छन् ।