आइ लभ यु…’, ‘प्रेम पत्र…’, ‘डुब्न देउ…’, ‘इञ्जिन गाडीमा…’, ‘प्रेमिका…’, ‘मैले जानी सके…’लगायत दर्जन बढी गीत सुपरहिट गीतका गायक अनिल सिंहले देउडा गीत ‘रेलिमोई’ ल्याउनु भएको छ । आफ्नै म्युजिक च्यानल म्युजिक स्टेटमार्फत उहाँले गीत ल्यायउनुभएको हो । विशेषगरी पप गायनमा सक्रिए अनिलले यसपटक देउडा गीत गाउनु भएको हो ।
उहाँकै सङ्गीत र स्वर रहेको गीतको भिडियोमा उहाँ स्वयम् फिचर्ड हुनुहुन्छ । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द रहेको छ । यो देउडा गीत हो । सप्तरङ्ग नामक साङ्गीतिक टुरमा रहँदा उहाँलाई देउडा गीत गाउनु प¥यो भन्दै प्रस्ताव आएको थियो । त्यहाँ रिदमसँग यशराजमार्फत भेट भएपछि उहाँले धुनलाई कम्पोज गरेर गीत तयार गर्नुभएको हो । गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड हुनुहुन्छ । गीतको भिडियोमा सिजिआई, भिएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ भने यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेर तयार गरेको हो ।
पछिल्लो समय म्युजिक भिडियोको क्षेत्रमा क्वालिटीको भिडियो बनाउने प्रतिस्पर्धा चलिरहेका बेला अनिल सिंहको यस गीतको भिडियोमा पनि क्वालिटीको ध्यान नदिएको देखिन्छ । पछिल्लो समय गीतसंगीतमा लगानी बालुवामा पानी जस्तो भइरहेका बेला गायक अनिलले भिडियोमा धेरै दुःख नगरेको देखिन्छ ।
झण्डै डेढ दशकअगाडि मात्र फर्किने हो भने उहाँले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए । अहिले पनि स्टेज कार्यक्रममा सक्रिय अनिलको कन्सर्टमा गाउने गीत र झुम्ने दर्शकको कमि छैन । यद्यपि ती गीतलाई अनिलले युट्युबका लागि तयार गर्नुभएको थिएन । अब उहाँले युट्युबका लागि कन्टेन निर्माण गर्ने बताउनुभएको छ । आफ्नो गीत र गतिविधिलाई जानकारी गराउने उद्देश्यले उहाँले ‘म्युजिक स्टेट’ नामक युट्युब च्यानल बनाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘म युट्युबको लागि नयाँ छु । किनकि यसको लोकप्रियता बढेपछि म गीतसंगीत लिएर आएको छैन । अब भने सक्रियता बढाउँदैछु ।’