आज साउन महिनाको पहिलो सोमबार । भगवान शिवलाई मान्ने धर्मावलम्बीहरुका लागि विशेष दिन । अझ यो महिनालाई पवित्र महिना मानेर महादेवको पूजा आरधना गर्ने गरिन्छ । पछिल्लो समय हरियो–पहेँलो वस्त्रमा मेहन्दी र चुराको रौनकसमेत थपिएको छ ।
शिवभक्तको रुपमा धेरै कलाकर्मी परिचितसमेत छन् । यसैले होला कलाकारको साउन महिना र सोमबारको रमझमले सामाजिक सञ्जाल रंगिन बनेको छ ।
चलचित्रकर्मी दीपकराज गिरी शिवभक्त हुन् । उनको आध्यात्ममा विशेष रुचिसमेत छ । लामै समय भयो उनी शाकाहारीसमेत बनिसकेको । अब यो महिना त् अझ शिवको महिना, उनको लागि विशेष हुने नै भयो । आज पहिलो सोमबार उनी गेरु वस्स्त्रमा सजिएर रुद्राक्षको माला पहिरिएर एकाबिहानै पशुपतिनाथको मन्दिर पुगे । भिडभाडका बाबजुद उनले पशुपतिनाथको दर्शन गरे र सामाजिक सञ्जालमा तस्बिरसमेत सार्वजनिक गरेका छन् ।
यता, दीपाश्री निरौला पनि पशुपतिनाथ पुगिन् । पारिवारिक समूहबीच पुगेकी उनी समुहमा खुसी देखिन्छिन् । गलामा रुद्राक्षकै माला, गेरु वस्त्र अनि पारिवारिक जमघट उनका लागि साउनको पहिलो सोमबार विशेष बनेको देखिन्छ । उनले भगवान शिवसंग सबैको रक्षा गर्न आग्रह गरेकी छिन् । छिन् । ‘सुरु भयो मेरो भोलेको महिना, अभिनेत्री ढुंगानाले लेखेकी छिन्– ‘पहिलो सोमबार ।
पछिल्लो समय कलाकार अनु शाह र निर्देशक समुन्द्र भट्टको मित्रता जमेको देखिन्छ । त्यसो त यी दुईलाई यसअघि समेत पारिवारिक समारोहदेखि पार्टी गर्दै गरेकोसम्म एकसाथ देखिएकै हो । आजको दिन यी दुई पुनः एक साथ देखिए । पछिल्लो समय अनुको हातमा फिल्म छैनन् । समुन्द्रले पनि लामो प्रतीक्षापछि ‘गुलाबी’ शीर्षकको फिल्म निर्देशनको जिम्मा पाएकी छिन् । यहीबीच आज सिमबार यी दुई पशुपतिनाथ परिसरमा देखिए ।
अनु आध्यात्मिक विचार भएकी र धर्मकर्ममा विश्वास राख्ने अभिनेत्रीमा पर्छिन् । त्यसैले होला यी दुई सजिएर पशुपतिनाथ पुगेर शिवको आराधना गरे । र सामाजिक सञ्जालमार्फत धेरैको ध्यान पनि ताने ।
अभिनेत्री दीपिका प्रसाईँलाई संस्कारी लुकमा कुनै अभिनेत्रीले पछि पार्न नसक्ने सत्य सर्वविदितै छ । विवाह भोजदेखि धार्मिक क्रियाकलाप र पूजापाठमा उनको लुक्स ओहो ! फ्यान तारिफ गरेर थाक्दैनन् । त्यसो त उनका निर्देशक श्रीमान् दिवाकर भट्टराई पनि श्रीमतीको यो धार्मिक प्रवृत्तिको कारण फिदा नै छन् ।
आज साउनको पहिलो सोमबार दीपिकाले सजिने अवसर छोड्ने कुरै भएन । यी दुई दम्पती मन्दिर दर्शनलाई पुगे । दीपिकाले हातमा ‘दिवाकर मेरो जीवन’ लेखेर मेहेन्दीले रंग्याएकी छिन् ।