सर्वनाम थिएटरले आफ्नो चार दशकको इतिहासमा पहिलो पटक गीति नाटक ‘सपना अनेक अनेक’ प्रस्तुत गर्दैछ । सर्वनाम थिएटरको प्रस्तुतिकरणमा गीति नाटक ‘सपना अनेक अनेक’ मञ्चन हुने भएको हो ।
गीता खत्रीको खण्डकाव्य ‘आमा हुन् आमा’ मा आधारित उक्त गीति नाटक यही साउन ५ गते बिहिबारदेखि २१ गते शनिवारसम्म कालिकास्थान, काठमाडौंस्थित सर्वनाम थिएटरमा मञ्चन हुन लागेको हो ।
अशेष मल्लको परिकल्पना तथा निर्देशनमा मञ्चन हुन लागेको उक्त नाटकमा मनोज महर्जन, मिलन शाक्य, रविना परियार, शू–गूँ, भावना उप्रेती, धीरज थापा, निरीक्षा घतानी आदि कलाकारले अभिनय गरिरहेका छन् ।
नाटकमा राजु सिंहको संगीत, सत्यराज आचार्य तथा बानिका प्रधानको गायन छ भने प्रमिला कार्की उप्रेतीको कोरियोग्राफी छ ।
सर्वनाम थिएटरले दिएको जानकारी अनुसार उक्त नाटक आगामी बिहिबारदेखि प्रत्येक दिन साँझ ५ः३० बजेदेखि मञ्चन हुनेछ भने शनिवार दिउँसो १ बजे अतिरिक्त शो समेत मञ्चन हुनेछ । नाटक हेर्नका लागि तीन सय रुपैयाँ (विद्यार्थीलाई दुई सय) को टिकट काट्नु पर्नेछ ।
नाटकको सारसंक्षेप
सर्वनामले आफ्ना चार दशकको इतिहासमा पहिलो पटक गीति नाटक प्रस्तुत गर्दैछ । कवि गीता खत्रीको खण्डकाव्यमा आधारित प्रस्तुत गीति काव्यको यो कलात्मक नाटकीकरण हो । यो एउटा प्रयोग पनि हो । अमेरिका पुग्न सपना बुन्नेहरु, अमेरिकाको माटोमा पुगे पनि आफ्नै देशको यादले रातदिन तड्पिरहेका हुन्छन् । त्यो एउटा प्रतीक हो । चाहे जुनसुकै मुलुकमा पुगे पनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ । आमा अर्थात नेपाल आमा । आमाको त्यो विम्ब नै यो नाटकको सार हो ।
के भन्छन् गीति नाटकसंग आवद्ध कलाकर्मी ?
अशेष मल्ल, निर्देशक/परिकल्पनाकार
गीतिकाव्यको भावलाई नाटकीकरण गर्दै चरित्र निर्माण गर्नु र तिनको माध्यमबाट मञ्चमा जीवन्तता प्रदान गर्नु आफैंमा एउटा जटिल चुनौती हो । कुनै प्रत्यक्ष घटना, कथानक विकास र तिनका द्वन्द बिना नाटकीय विकास गर्नु पर्ने परिस्थिति यो नाट्य प्रस्तुतिको सबैभन्दा ठूलो चुनँैती थियो । सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतीकर्लाइ चित्रात्मकता दिने कोशिस गरेको छु । त्यही अनुरुप प्रस्तुति संरचना, सांगीतिक नाटकीकरण र कलाकारका शारीरिक गतिको प्रयोग भाव सम्पे्रषणका आधार बनेका छन् ।
राजु सिंह, संगीतकार
मैले नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आएको छु, तर सपना अनेक अनेकमार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशीको वयान गर्न सक्दिन । प्रस्तुत गीति नाटकमार्फत पूर्ण संगीतकार भएको महसूस गरेको छु । गर्व पनि लागिरहेको छ । यसले नेपाली गीति नाटकमा विशेष योगदान पुर्याउने विश्वास लिएको छु ।
सत्यराज आचार्य, गायक
गीति नाटक स्वयंमा एउटा सहकार्य र सामुहिक कला हो । यस्तो महान कार्यमा म आफू पनि सहभागि हुन पाउँदा खुशी लागेको छ । यो गीति नाटकका गीतहरु गाउँदा मलाई गीत होइन, जीवन बाँचेको अनुभूति भयो । धेरै गीतहरु गाएँ, प्रायः हरेक दिन गीत गाइरहेकै हुन्छु । तर सधैं गाउनेभन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरंगित बनाइरहेको छ । संगीतकारसंग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारसम्म पुगेको यो प्रस्तुति साँच्चै नै नवीनतम प्रयोग भएको छ ।
बानिका प्रधान, गायिका
प्रस्तुत गीति नाटकमा पाश्र्व गायिकाको रुपमा यस टोलीको हिस्सा बन्न पाएकोमा अत्यन्तै हर्षित छु । आफू कलाको विद्यार्थी भएकाले कलाका विभिन्न विधाहरुलाई नजिकबाट बुझ्ने चासो पहिलादेखि नै रहिआएको हो । मेरो यो चासोलाई अवसरमा परिणत गरिदिएको छ यस प्रस्तुतिले । यस नाटकमार्फत मैले यस विधालाई नजिकबाट बुझ्ने मौका पाएकी छु ।
प्रमिला कार्की उप्रेती, कोरियोग्राफर
संगीत र गायनको गहिराईलाई मध्यनजर गर्दै निर्देशकको परिकल्पनालाई जीवन्तता दिने लोकनृत्य, चर्या नृत्यका साथै आधुनिक र शास्त्रीय नृत्यको भाव र नवरसहरुलाई आधारका रुपमा प्रयोग गरेकी छु । प्रस्तुत गीति नाटकमा सहभागि हुन पाउनुमा आफूलाई भाग्यमानी ठानेकी छु ।