नेपाली सांगीतिक क्षेत्रमा एउटी आशलाग्दी गायिकाको उदय भएको छ । बाल्यबालदेखि नै गीत, संगीत र गायन भनेपछि हुरुक्क हुने सुम्निमा देवान पहिलो पटक एउटा लोकप्रिय गीतको कभर भर्सनमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् ।
सुम्निमाले वर्ल्ड म्युजिक डेको अवसर पारेर आफ्नै यूट्युब च्यानलमा सांगीतिक समुह १९७४ एडीको ‘पहिलो जुनीमा…’ गीतको कभर भर्सन सार्वजनकि गरेकी हुन् ।
‘१९७४ एडीका दाइहरुले हामीलाई यति मिठो सांगीतिक उपहार दिनु भएको छ, गायिका सुम्निमाले भन्छिन्– ‘यो गीत मेरो मनमा गुन्जिरहन्छ, तसर्थ मेरो गायन यात्राको थालनी यही गीतमार्फत गरेकी छु ।’
सांगीतिक परिवारमा हुर्किएकी सुम्निमा घरमा हुने पारिवारिक जमघटमा समेत गितार बजाएर गीत गाउन अग्रसर भैरहन्छिन् । उनका आफ्नै भाइ समेत संगीतकर्मी हुन् ।
अंग्रेजी गीतहरु गाइरहने सुम्निमालाई शाकिरा र अडेल मनपर्ने गायिकाहरुमा पर्दैछन् भने गायिका तारा देबीको मिठासपूर्ण स्वर तथा लता मंगेशकरको कालजयी गीतहरु उनी गुन्गुनाइरहन्छिन् ।
विद्यालयका कार्यक्रमहरुमा समेत गीत गाउन अग्रसर भैरहने सुम्निमालाई कसैले ‘तिम्रो मिठो र मौलिक स्वर साथीभाइ र परिवार भित्रमात्र सिमित राखेर तिम्रो प्रतिभा खेर गएको देख्दा दुःख लाग्छ’ भनेपछि उनी व्यवसायिक गायनका लागि उत्साहित भएकी हुन् ।
शास्त्रीय गायनको औपचारिक कक्षा समेत लिइसकेकी सुम्निमाले अब भने गायनलाई व्यवसायिक रुपमा अघि बढाउने निर्णय लिएकी छिन् ।
बेलायत तथा अमेरिकाबाट उच्च शिक्षा अध्ययन गरेकी सुम्निमा भन्छिन्– ‘म अंग्रेजी गीत गाएर हुर्किएकी हुँ, नेपाली र हिन्दी गीतहरु मलाई गाह्रो लाग्थ्यो, तर मलाई यी गीतहरूमा संगीत र कविताको छहरा बगेको जस्तो लाग्छ । शब्द, संगीत र आवाजको समिश्रणले जीवन्त बन्न पुगेका यी गीतहरुले मन यति छुन्छ की मलाई हरेक दिन गाउने उर्जा दिन्छ ।’
गायिका सुम्निामाले निकट भविष्यमै आफ्नै शब्द, संगीत तथा स्वरमा आफ्नो पहिलो गीत ल्याउने योजना बनाएकी छिन् ।