काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चलचित्र क्षेत्रका समस्याहरु समाधान गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।
कलाकार निर्मल शर्माको पहलमा मंगलबार दिउँसो चलचित्रकर्मीहरुको एक समुहले मेयर साहलाई भेटेको थियो ।
राष्ट्रिय सभागृहमा भएको उक्त भेटघाट कार्यक्रममा चलचित्रकर्मी अशोक शर्मा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कलाकार तथा निर्देशक दीपाश्री निरौला, निर्देशक तथा अभिनेता निश्चल बस्नेत, अभिनेता खगेन्द्र लामिछाने आदि सहभागि थिए ।
कलाकार निर्मल शर्माका अनुसार उक्त भेटघाट कार्यक्रममा चलचित्रकर्मीहरुको समुहले मेयर साहसमक्ष केही मागहरु राखेका थिए । ती मागहरु सुनेपछि मेयर साहले आफ्नो तर्फबाट ती मागहरु पुरा गर्न सक्दो प्रयास गर्ने आश्वासन दिएका छन् ।
चलचित्रकर्मी अशोक शर्माका अनुसार चलचित्रकर्मीहरुले मेयर साहसमक्ष स्थानीय मनोरञ्जन कर, वडामा कम्पनी दर्ता, व्यवस्थित डिजिटल बोर्डमा चलचित्रको विज्ञापन, नगर क्षेत्रका विभिन्न स्थानमा सहज र सहुलियतपूर्ण छायांकनको व्यवस्था, चलचित्रकर्मी कल्याण कोष आदि विषयमा आफ्ना मागहरु राखेको थियो ।
‘स्थानिय निकायमा चलचित्र क्षेत्रका समस्याहरुका बारेमा मेयर बालेन साहसंग छलफल भएको हो, निर्देशक तथा निर्माता अशोक शर्माका अनुसार माथि उल्लेखित विषयहरुमा मेयर साह सकारात्मक भएकाले ती समस्याहरु चाँडै समाधान हुने आशा गरिएको छ । ‘यी विषयहरु चाँडै समाधान हुनेछ, किनकि उहाँ (मेयर साह) नेता नभएर जनताका मेयर हुनुहुन्छ, चलचित्रकर्मी शर्माको भनाइ छ ।