छाउपडी प्रथाको विषयवस्तुमा तयार भएको गीत ‘लिलु’ सार्वजनिक भएको छ । अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथा बोकेको देउडा ‘लिलु’ सार्वजनिक भएको हो । एल.पी शर्मा र गौरब गिरीको टिमले यो गीत निर्माण गरेको छ । यसमा गीतकी मुख्य पात्र ‘लिलु’ले पहिलो पटक आफू छाउ भएको सपना देख्छिन् । दोस्रो दिन उनी स्कुल जाँदा आफ्नो साथीलाई सो कुरा सुनाउछिन् । बाटोमा मन्दिरलाई ढोग्न खोज्दा लिलुकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न हुँदैन भन्छिन् । लिलुले आफुलाई गास, कपास दिए पनि बास नदिएको कुरा गीतमा व्यक्त गर्छिन् ।
एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै बेलौँना गीतमा पोख्छिन् । तर, उनकी आमाले बर्ष, महिना त गयो चार दिन त यत्तिकै जान्छ, तलाई केही हँुदैन भन्दै गीतमा सम्झाउन खोज्छिन् । ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन् । उनको मृत्यु हुन्छ ।
गीतमा एल.पी. शर्मा र गौरव गिरीको शब्द छ भने पूजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाको स्वर छ । रोहित देउवा सङ्गीत रहेको गीतमा एचबिएन किस्मतको एरेञ्ज छ ।
गौरव गिरीले निर्देशन गरेको गीतको भिडियोमा रोशनी कार्की, पूजा देवकोटा, लक्ष्मीप्रसाद शर्मा, भद्रजंग कुवँर, मुकेश सुनार, ईब्सु सञ्ज्याल र पशुपती कुवँरको अभिनय छ ।
काठमाडौंको मोजो बुटिक एण्ड रेष्टुरेन्टमा एक कार्यक्रमबीच सार्वजनिक ‘लिलु’ गीतबारे प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छाउपडी प्रथा रोक्नका लागि सरकारी तबरबाटै जोड गर्नुपर्ने बताउनुभयो । साथै उहाँले नेपाली समाजमा अझै पनि छोरा र छोरी बीचको भेदभाव रहेकाले दुबैलाई समान रुपमा लिन सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।
रचना गौतमले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ, मर्यादित महिनावारी अभियान्ता राधा पौडेल, सङ्गीतकार तथा गायक बसन्त सापकोटा, सञ्चारकर्मी डब्बु क्षेत्री लगायतले गीत हेरेर आ–आफ्नो भनाइ राख्नुभएको थियो ।