२०७६ सालको कात्तिकमा विरगञ्जमा भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुने क्रममा अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीबीच देखिएको निकटता र एकअर्काप्रतिको केयरिङले उनीहरुको प्रेम चर्चा सुरु भएको थियो । त्यसयता उनीहरु प्रेममा रहेको विषय मिडियाको ‘हेडलाइन’ बनिरहे पनि यो जोडीले कहिल्यै प्रेम सम्बन्ध स्वीकार गरेन ।
‘लुकेर लगाएको माया मिठो हुन्छ’ भन्ने सिद्धान्तलाई पछ्याउँदै उनीहरुले मिडियाबाट लुकिछिपी नै प्रेम हुर्काए । तर, अब नीता र हरिहर प्रेम सम्बन्धलाई आधिकारिकता दिने तयारीमा छन् ।यो जोडी विवाह बन्धनमा बाँधिदैछ । असार २४ गते उनीहरुले लगनगाँठो कस्न लागेको खबर आइरहे पनि यी दुईले यसबारेमा बोलेका थिएनन् । तर, अब विवाहको कार्ड नै बाहिर आएको छ ।
नीता र हरिहरले फिल्मकर्मीहरुलाई विवाहमा उपस्थित हुन पठाएको निम्तो कार्डमा विवाहको मिति असार २४ गते छापिएको छ । कार्डमा उल्लेख भएअनुसार, दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतिमा बिहान १० बजेदेखि विवाह समारोह सुरु हुनेछ । विवाहमा दुई पक्षका परिवारका सदस्य र आफन्तसँगै दुलहा र दुलहीका केही नजिकका फिल्मकर्मीहरु मात्र सहभागी हुनेछन् ।
यो जोडीले रिसेप्सन पार्टी असार २६ गते याक एन्ड यति होटलमै दिन लागेको जानकारी प्राप्त छ । उनीहरुको रिसेप्सन पार्टीमा भारतबाट ‘गजनी’ भिलेन प्रदीप रावत नेपाल आउने चर्चा छ । उनी नीता र हरिहरले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा देखिँदैछन् । विवाह बन्धनमा बाँधिएको केही महिनामा ‘हनी जोडी’ले आफ्नो ड्रिम प्रोजेक्टको सुटिङ सुरु गर्नेछ ।