निर्देशकदेखि कलाकारसम्म हेरफेर गर्दै चलचित्र ‘प्रसाद २’को निर्माण घोषणा गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ‘कास्ट एन्ड क्रियू’लाई चिनाइयो । पहिला सौरभ चौधरीले निर्देशन गर्ने पक्का भएको चलचित्रलाई अब सुदर्शन थापाले निर्देशन गर्दैछन् भने मुख्य भूमिकामा अनुबन्ध भएका निश्चल बस्नेत बाहिरिएपछि उनको ठाउँमा अर्पण थापालाई लिइएको छ ।
चलचित्रमा निर्देशकको रुपमा सुदर्शन थापा भित्रिए लगत्तै निश्चल बाहिरिएका थिए । यसको कारण सुदर्शन र निश्चलबीच राम्रो सम्बन्ध नहुनुलाई मानिएको छ । तर, फिल्मको घोषणा सभामा निर्देशक थापाले निश्चलसँग आफ्नो कुनै खालको मतभेद नभएको स्पष्ट पारे । ‘प्रसाद २’मा आफू भित्रिएपछि एकपटक निश्चलसँग भेट भएको तर त्यसबेला फिल्मको बारेमा कुरा नै नभएको उनको भनाई छ ।
‘निश्चलसँग एकपटक कफी भेट हुँदा उहाँलाई मैले ‘प्रसाद २’ गर्दैछु भन्ने जानकारीबाहेक फिल्मको बारेमा अरु केही नै कुरा भएन,’ सुदर्शनले भने, ‘पछि निर्माताले फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठबाहेक अरु क्यारेक्टरका लागि कलाकार फाइनल नभएको बताएपछि मैले त्यस क्यारेक्टरमा अर्को कलाकार कास्ट गरेको हुँ ।’ उनले निश्चललाई आफूले नहटाएको पनि स्पष्टिकरण दिए ।
फिल्मका निर्माता सुभाष थापाले भने व्यस्तताका कारण निश्चल बस्नेतले ‘प्रसाद २’मा काम गर्न नसकेको जानकारी दिए । ‘हामी टिम नफुटोस् भन्ने नै चाहन्थ्यौं । हामीले विपिन, नम्रता र निश्चल तीनै जनासँग सम्झौता गरेका थियौं । फिल्म बन्न अलि ढिलो भएपछि निश्चल बस्नेतले व्यस्तताका कारण काम गर्न नभ्याउने बताएपछि मैले पनि त्यो कुरालाई सहजै स्वीकार गरेँ,’ उनले भने ।
फिल्मबाट निश्चल बाहिरिए पनि विपिन कार्की र नम्रता श्रेष्ठ भने यथावत् छन् । २०७५ सालमा प्रदर्शन भएको ‘प्रसाद’ जहाँ टुंगिएको थियो त्यहीँबाट ‘प्रसाद २’ सुरु हुनेछ । सुशील पौडेलको लेखन रहेको फिल्ममा राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ ।