शुक्रबारदेखि दीपेन्द्र के खनालको निर्देशित चलचित्र 'चिसो मान्छे' प्रदर्शन भइरहेको छ। चलचित्रले घरेलु बक्स अफिसमा पहिलो दिन ४१ लाख रूपैयाँ कमाउँदै राम्रो 'ओपनिङ' गरेको छ।
दोस्रो दिन, शनिबार चलचित्रले ६२ लाख ७५ हजार रूपैयाँ कमाएको छ।
वितरक करण क्रेजीका अनुसार चलचित्रले दुई दिनमा झन्डै एक करोड ४ लाख (एक करोड तीन लाख ७५ हजार) रूपैयाँ कमाएको छ।
‘चिसो मान्छे’ एउटा यात्रा कथा हो। चलचित्रमा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथा समेटिएको छ।
चलचित्रको कथा निर्देशक खनालले नै तयार पारेका हुन्। शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ।
उनीहरूसँगै चलचित्रमा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायत कलाकारको अभिनय छ।
निर्देशक खनालले छायांकन गरेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।