हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ मलेसिया र सिंगापुरबाट सार्वजनिक गरिने भएको छ।चलचित्रका निर्माता एवं कलाकार शेखर लामाले असार पहिलो साता मलेसिया र सिंगापुरमा ‘टुल्की’को च्यारिटी सो आयोजना गरिने जानकारी दिए। ‘पहिलो चरणमा मलेसिया र सिंगापुरमा च्यारिटी सो गर्न लागेका छौं। त्यसपछि अन्य राष्ट्रमा पनि च्यारिटी सो आयोजना गर्दैछौं’, निर्माता लामाले भने।
द पाल्म ग्रुपद्वारा निर्माण गरिएको ‘टुल्की’ले उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरिएको निर्माता लामाले बताए। उनका अनुसार ‘टुल्की’ मा डोल्पाको तल्लो भेगको ब्राह्मण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्पाको शेर्पा समुदायमा हुर्केका केटाबीचको प्रेम सम्बन्धलाई देखाइएको छ।
‘फरक संस्कार र संस्कृतिमा हुर्किएकी ‘टुल्की’को जीवनमा संस्कारका नाममा आइपरेको सामूहिक यौन शोषणको कहालीलाग्दो घटनालाई चलचित्रमा विशेष रूपमा प्रस्तुत गरिएको छ’, निर्माता लामाले भने, ‘नेपालमा अहिलेसम्म बनेका चलचित्रभन्दा भिन्दै सन्देश यो चलचित्रले दिएको छ। लामो अनुसन्धान गरेर चलचित्र निर्माण गरिएको हो।’ डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा रहेको बहुपति प्रथालाई ‘टुल्की’मार्फत देखाइएको निर्माता लामाले बताए।
चलचित्रको निर्देशन देवजंग थापाले गरेका हुन्। ‘टुल्की’ थापाको पहिलो चलचित्र हो। ‘टुल्की’मा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बू, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली हमाल, भक्तसिंह कठायतलगायत कलाकारको अभिनय छ। ‘टुल्की’को गत तिहारमा टिजर सार्वजनिक गरिएको थियो।
शेखर लामा र आरपी कर्माचार्यको संयुक्त लगानीमा निर्माण भएको चलचित्रमा लक्ष्मण सुनारको कथा, शेखर लामाको पटकथा, देवजंग थापाको छायांकन, सञ्जीव लिम्बूको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, रमेश बुढाथोकी र योगेश भट्टराईको कोरियोग्राफी छ। चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको छ। चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। द पाल्म ग्रुपको ‘टुल्की’ तेस्रो प्रस्तुति हो। यसअघि द पाल्म ग्रुपले ‘सयाबुम’ र ‘मितबाको गाउँ’ चलचित्र निर्माण गरिसकेको छ।