चलचित्र ‘वर एन्ड बधु’ निर्माण हुने भएको छ । बुधबार निर्माण युनिटले काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको औपचारिक निर्माण घोषणा गरेको हो ।
मिलन चाम्सले निर्देशनमा बन्न लागेको यो चलचित्रमा आँचल शर्मा, साम्राज्ञी आरएल शाह, विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको अलवा र नव-अभिनेता विवेक कर्माचार्यलगायतको मुख्य भूमिका रहनेछ ।
प्रेमकथामा निर्माण हुने चलचित्र रोमानिया, इटली, फ्रान्स र नेपालमा छायांकन हुने बताइएको छ । चलचित्रको छायांकन जेठको अन्तिमबाट सुरु हुनेछ । कार्यक्रममा निर्देशक चाम्सले आफूले निर्देशन गरेको अन्य चलचित्र भन्दा यो फरक हुने बताउनुभयो ।
नेपाली र हिन्दी भाषामा निर्माण हुने भनिएको चलचित्रमा सुदीप बरालको छायांकन, अर्जुन जिसीको सम्पादन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोखरेल र युग भुसालको सङ्गीत कविराज गहताराजको नृत्य निर्देशन रहने छ ।