नेदरल्यान्ड्सको एक स्थानीय अनलाइन सञ्चारमाध्यमले गत शुक्रबार एक समाचार प्रकाशन गर्यो। ब्युटी एन्ड फेसनु विधामा प्रकाशित उक्त समाचार यसपालिको कान्स फिल्म फेस्टिभलमा उपस्थित सेलेब्रेटीहरूले लगाएको पहिरनबारे छ।
कान्सको रेड कार्पेटमा आकर्षक पहिरन लगाउने संसारभरका १५ महिला सेलेब्रेटीको उक्त सूचीमा नेपाली अभिनेत्री सुरक्षा पन्त पनि परेकी छन्।
सुरक्षाले फ्रेन्च फिल्म 'द एट माउन्टेन्स' मा सानो भूमिका निर्वाह गरेकी थिइन् । गत बुधबार कान्समा यो फिल्मको प्रिमियर थियो। यही फिल्मको प्रतिनिधित्व गर्दै उनी फ्रान्स पुगेकी हुन् ।
कान्सको रेड कार्पेटमा आधिकारिक रूपमा 'हिँड्ने' पहिलो नेपाली अभिनेत्री बनेसँगै उनको चर्चा चुलियो। योसँगै उनले लगाएको आकर्षक रातो पहिरनको उत्तिकै चर्चा भयो। नेदरल्यान्ड्सको उक्त अनलाइन सञ्चारमाध्यमले पनि यही पहिरनको चर्चा गरेको हो।
उक्त समाचारमा सुरक्षाको तस्बिरसँगै लेखिएको छ- सुरक्षा पन्तले 'द एट माउन्टेन्स' मा अभिनय गरेकी छन्। उनी तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको सुन्दर पहिरनमा रेड कार्पेटमा देखिइन्।
हामीले कान्सका लागि सुरक्षाको उक्त पहिरन डिजाइन गर्ने उनै तेन्जिङसँग कुराकानी गर्यौं।
कान्समा छोटो फिल्म 'लोरी' पनि छनोट भएको थियो। उक्त फिल्म टोलीका निम्ति लुगा डिजाइन गर्ने जिम्मा उनले पाएका थिए। विभिन्न कारणले 'लोरी' टोलीका लागि डिजाइन गर्न सकेनन्।
संयोगवस कान्समै जान लागेकी सुरक्षा उनीसँग जोडिइन्। तेन्जिङलाई सुरक्षाको लुगा डिजाइन गर्ने अवसर फिल्मकर्मी सुदिप्ता अधिकारीले जुराइदिएकी थिइन्।
'भाग्यले जुराएरै होला सुरक्षाको ड्रेस डिजाइन गर्न सफल भएँ,' तेन्जिङले सेतोपाटीसँग भने।