अभिनेत्री स्वस्तिमा खड्कालाई पृथक अवतारमा उतारिएको नयाँ नेपाली चलचित्र ‘चिसो मान्छे’ सोमबार ट्रेलर सार्वजनिक गरिएको छ ।
असारको ३ गतेदेखि प्रदर्शन हुने यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यो चलचित्रमा उनकै लेखन तथा छायांकन पनि छ ।
शर्मिला पाण्डेको लगानीमा तयार भएको यो चलचित्रलाई डी.एस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो ।
यो चलचित्रमा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झाकेन वीसी, पुष्पा अवस्ती, श्रृष्टी आचार्य, विकास खनाल लगायतका कलाकारको अभिनय छ ।
दिर्घ खड्काको सम्पादन रहेको चलचित्रमा सुभाष भुषालको संगीत छ ।
यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साह पनि पुगेका थिए । उनले चलचित्रको ट्रेलर उत्कृष्ट लागेको भन्दै प्रशंसा गरे । यस्तै, उनले आफू नायक अर्पण थापा र नायिका स्वस्तिमा खड्काको फ्यान भएको समेत बताए ।
अभिनेत्री स्वस्तिमा खड्काले ‘चिसो मान्छे’ आफ्नो करिअरमा आजसम्म काम गरेका चलचित्रमध्ये एउटा उत्कृष्ट अनुभव बोकेको चलचित्र भएको बताइन् ।
निर्देशक दीपेन्द्र के खनालले चलचित्रले चिसो मान्छेहरुको कथा भन्ने बताए । निर्मात्री शर्मिला पाण्डेले ‘आमा’ पछि दर्शकको मन छुने कथामा अर्को चलचित्र बनाएको बताइन् ।
यो चलचित्रमा नायिका स्वस्तिमा खड्का बाजुरेली महिलाको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको संवाद पनि बाजुराकै छ । यसका लागि उनले भाषाको प्रशिक्षण समेत लिएकी थिइन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा उनको अभिनयको प्रशंसा भएको थियो ।
काठमाडौंदेखि बाजुरासम्म बाकसमा आफ्नो श्रीमान्को लास राखेर यात्रा गरिरहेकी एक महिला र उनीसँग जोडिएका २ पात्रको वरिपरी यो चलचित्रको कथावस्तु घुमेको छ ।