काठमाडौं महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएसंगै कलाकार बालेन शाहको चर्चाले यतिखेर आकाश छोएको छ । काठमाडौंवासीले उनलाई दिएको मतले परम्परागतका ठूला राजनीतिक दलहरुलाई समेत एक किसिमको धक्का लाग्ने देखिन्छ । काठमाडौं गौरीगाउँमा जन्मिएका बालेन पेशाले इन्जिनियर हुन् । नेपाली युवा माझ र्याप गीत संगीतबाट ख्याति कमाएका बालेन र उनको उम्मेदवारीप्रति नेपाली सांगितिक क्षेत्रका हस्तीहरु काे के भन्छन् ?
तारा थापा वरिष्ठ गायिका
बालेन शाहको उम्मेदवारीलाई मैले कसरी बुझेको छु भन्दा हाम्रा पुराना राजनीतिक दलहरु र नेताहरुप्रतिको वितृष्णा वाक्क दिक्क भएर जनताहरुले दिएको एउटा प्रतिकृया हो बालेन शाह । ‘आशा गरौ उनको जीतले ति वितृष्णाका खाडलहरुलाई बालेनले काम गरेर पुर्ने छन् ।’
बीबी थापा वरिष्ठ गीतकार
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारीप्रति मेरो धारणा आम नागरिक झै सकारात्मक नै छ । बालेनप्रति मेरो बुझाई उनी नेता नभएर एक दुरदर्शी विद्धान युवा हुन् । अग्रगामी सोच र समाज परिवर्तन गर्ने योजना लिएर अघि बढेका विदेशको अध्ययन र ज्ञान सदुपयोग गरी दैनिक विदेश पलायन हुने युवाशक्तिलाई स्वदेशमै उचित अवसर र रोजगार प्रदान गरी राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने अठोटका साथ लम्किएका एक युवा हुन् । काठमाडौंबासीले उनीप्रति ठूलो आशा राखेका छन् ।
अन्जु पन्त लोकप्रिय गायिका
बालेनको उम्मेदवारी मतपरिणाम अथवा जितलाई लिएर भन्दा पनि मेरो बुझाई जसले जिते पनि देशले जित्नु पर्दछ भन्ने हो । नेपाल र नेपाली जनताको विकास समृद्धि र परिवर्तनको पक्षमा काम गर्ने व्यक्ति अबको राजनीतिमा आउनु पर्दछ जस्तो लाग्छ । देशले असल मान्छे दुरदर्शी प्रष्ट भिजन भएको नेपाली जनताहरुको भावना र चाहनालाई केन्द्रमा राखेर काम गर्ने मान्छे देश र जनताले खोजेको छ । नेपाली जनताले बालेन शाहप्रति त्यो आशा गरेका हुन् की ?
प्रदिपराज पाण्डे वरिष्ठ गायक
नेपाली जनताको पुराना राजनीतिक र नेताहरुप्रतिको वितृष्णाका एक उपज हुन बालेन शाह । नेपाली जनताले बालेनलाई दिएको मत अथवा उनको उम्मेदवारीमा परिवर्तन खोजेको प्रष्ट देखिन्छ । नेपाली राजनीतिक परिवर्तन ल्याउन नेपाल र नेपालीको समृद्धिको चाहना पुरा गर्न युवाहरु नेपालको राजनीतिमा आउनै पर्छ । देश र जनता लुट्ने दल र व्यक्तिलाई नेपाली जनताले गरेको अस्वीकार नै बालेनको उम्मेदवारी र जनताले दिएको मतपरिणाम हो । देश र जनताको अवस्था हेर्ने हो भने हिजो जस्तो छ आज पनि त्यस्तै छ । बालेन एक बौद्धिक निडर र क्षमतावान व्यक्ति हुन उनको जितले समग्र देशकै राजनीतिलाई एउटा सन्देश दिन्छ ।
मेलिना राई लोकप्रिय गायिका
बालेन शाहको उम्मेदवारी र उनलाई काठमाडौंवासीले दिनुभएको मतले समग्र विकास र समृद्धिको सपना देख्ने नेपालीहरु जस्तै म पनि खुसी छु । यस्तै सोच विकास भएका युवाहरुको खाचो छ हाम्रो देशलाई । बालेनको विचार र योजनाहरुले देश विकासमा सकारात्मक परिवर्तन गरियोस शुभकामना भन्न चाहन्छु । उनको उम्मेदवारी र मत परिणामले एउटा आशाको किरण ल्याएको छ । उनका योजनाहरु लागु भएको हेर्न सारा नेपाली व्यग्र प्रतिक्षामा छन् ।
आलोक श्री वरिष्ठ संगीतकार
मेरो बुझाईमा बालेन शाहको महानगरको उम्मेदवारी र काठमडौंवासीले उनलाई दिएको मत देशले परिवर्तन र युवा जनशक्तिलाई राजनीतिमा गरेको विश्वासको प्रमाण हो जस्तो लाग्छ । बालेनको जति पनि गतिविधिलाई तपाई हामीले नजिकबाट नियाल्यौं भने हामीले उनी एक बौद्धिक क्षमतावान र भिजन भएको देशलाई चाहिने व्यक्ति पाउदछांै । नेपाली राजनीतिमा देखिएको एककिसिमको विकृती र वितृष्णको उपज नै उनको उम्मेदवारी हो । बालेनले पाएको मत आम परिवर्तन र समृद्धिको सपना देखेका युवाहरुको सपना हो । विश्वमा कलाकारहरुले कला र राजनीति मार्फत समाज र देशको परिवर्तनमा अहम भूमीका खेलेका छन् । आशा गरौं बालेनको जितले नेपालमा त्यो सम्भव हुनेछ ।
मिलन नेवार लोकप्रिय गायिका
बालेन शाहको उम्मेदवारीको विषयमा मेरो मात्र नभएर समग्र नेपालीको सकारात्मक धारणा रहेको छ । उनको विचार योजनाहरु सबै राम्रा छन् । जनताले ति योजना र विचारहरुलाई अनुमोदन गरे जस्तो लाग्छ । यस्तै सोच भएका युवाहरु अब राजनीतिमा आउनु पर्दछ । बालेनलाई शुभकामना भन्न चाहन्छु ।
राजु सिंह वरिष्ठ संगीतकार
बालेन शाहको सांगितिक पृष्ठभूमी र उम्मेदवारी दुवैलाई नियाल्दा उनी एक क्षमतावान दुरदर्शी युवा हुन् जस्तो लाग्छ । मलाई राजनीतिक कुरा भन्दा पनि देश समाज परिवर्तन गर्ने आम नागरिकले खोजेको समृद्धिको सपना पुरा गर्ने व्यक्ति हामी सबैको चाहना हो । विश्वमा कलाकारहरु पनि राजनीतिमा लागेर देश चलाएको र जनताको मन जितेर काम गरेको थुप्रै उदाहरण छन् । बालेनलाई काठमाडौंका मतदाताहरुले विश्वास गरेर मत दिए जस्तो लाग्छ । आशा गरौं उनले जिते भने त्यो विश्वास माथी तुषारापात गर्ने छैनन् ।
मान्डवी त्रिपाठी लोकप्रिय गायिका
बालेन शाहकोबारेमा भन्नु पर्दा म पनि बालेनकै पक्षमा छु । जब उनले महानगरको लागि उम्मेदवारी घोषणा गरेका थिए उनका विचारहरु, शैलिहरु, भिजनहरु आम मानिसलाई छुने खालका थिए । बालेनको सबै भन्दा मन परेको उनले ठूला भन्दा पनि गर्न सकिने साना कुरा गरेर जनताको मन र मत जितेको जस्तो लाग्दछ । उनलाई धेरै कलाकारहरुले पनि साथ सहयोग गर्नु भएको छ । कलाकारले मात्र नभएर काठमाडौंका जनताहरुले पनि बालेनलाई साथ दिएका छन् । पक्कै पनि बालेनले जिते भने केहि गर्छन् जस्तो लाग्छ र उहाले जित्नै पर्छ भन्दछु ।
लक्ष्मण शेष वरिष्ठ संगीतकार
नेपालका राजनीतिक दलहरुले युगौदेखि श्रष्टा कलाकारहरुलाई सधै आफ्नो हली पुच्छर र प्रचार सामग्रीको माध्यम मात्रै बनाउदै आए । तर बालेनले आफै अघि सरेर समस्त श्रष्टा कलाकारहरुप्रति नेपाली समाजको माया सत्भाव र उनीहरुको श्रद्धा र विश्वासलाई पुंजीकृत गर्दै सकारात्मक सोच र कर्तव्यवोध सहित समाज र राष्ट्रका लागि नेतृत्वदायी भूमीकामा स्थापित हुन सकिन्छ भन्ने प्रमाणित गरिदिए । बालेनको आट साहस र विश्वासलाई सकारात्मक रुपमा लिन चाहन्छु ।
प्रदिप देवान जनवादी गायक
बालेनको उम्मेदवारी र मतलाई मैले नेपाली जनताको दल र नेताहरुप्रतिको वितृष्णाको उपज मान्दछु । पहिलो कुरा नेपाली जनताहरुले नेपालको राजनीतिमा विकल्प खोजिरहेको छन् । बालेनले पाएको मत त्यसको प्रष्ट प्रमाण हो । अर्को कुरा बालेनमा रहेको देशप्रतिको राष्ट्रवाद र विकासवाद सबैलाई मन परेको र छोएको विषय हो । अरु ठाउँमा पनि स्वतन्त्र उम्मेदवारहरु उठेका छन् तर बालेनको जति चर्चा कमै पाएका छन् किन–कि बालेनले काठमाडौंवासीले उठाउदै आएका मुद्दा र विषय वस्तुलाई आफ्नै ठानी तिनै जनता माझ लगिदिएका छन् । उनको त्यो शैलीलाई नेपाली जनताले मनपराएको देखिन्छ र बालेनले ति मुद्दाहरुलाई जनतासंगै मिलेर पुरा गर्ने वाचा गरेका छन् । उनले ठूला भन्दा पनि गर्न सकिने कुरा र विषयहरु जनता माझ लगेका थिए उनको त्यो विचारलाई पनि नेपाली जनताले रुचाएको देखिन्छ । उनको क्षमता बौद्धिकता जोस र बैचारिकता नेपाली जनताको लागि युवा पिढीका लागि एक मिसाईल हो ।
टिएन आचार्य गीतकार तथा निर्माता
मेरो बिचारमा बालेनको अग्रता तथा विजयले मुख्य गरी चार पाँच वटा कुरामाथी इंकित गरेको छ । पहिलो कुरा अघिल्लो कार्यकालमा भएको असक्षमता तथा कुरा ठूलो गर्ने र काम चाहि सिन्को नभाचेको घमण्ड र दम्भको उचित जवाफ हो भन्ने लाग्दछ । दोस्रो कुरा देशको राजधानी महानगरमा ठूला भनाउदा दलले उठाएका उम्मेदवारहरुको हैसियतमा जनताले विश्वास नगरेको हो भन्ने लाग्दछ । यो महानगरमा कमसेकम केन्द्रीय तहमा महत्वपूर्ण मन्त्रालय सम्हालेका व्यक्ति तहको उम्मेदवार हुनुपथ्र्यो सबै दलबाट । त्यो नभएपछि नगरवासीलाई हेपिएको महसुस भएको जवाफ हो भन्ने लाग्दछ बालेनको उम्मेदवार । तेस्रो काठमाडौंका जनताले कुरा होइन दल होइन काम खोजेका छन् ।
अरुको आलोचना गर्ने नेता होइन आफ्नै दुरदृष्टि राखेर जनतालाई विश्वास दिलाउने नेता खोजेका छन् । काम गर्नेहरुमा भरतपुरकी रेनु दाहाल, भक्तपुरका सुनिल प्रजापति जस्तो नेतृत्व खोजेका छन भन्ने देखिन्छ । चौंथो यो केही अंशमा ठूला दलहरुप्रतिको वितृष्णा पनि हो । सुधारवादी आमआदमी पार्टी जस्तै । ठूला दलको विकल्प खोज्ने जमर्को पनि हो । ठूला दलहरुले यो बुझन जरुरी देखिन्छ । पांचौ तथा अन्तिम चाहि दलहरुले विकास र सुशासनमा सही परिणाम दिन सकेनन् भने कार्यकर्ता समेत रुष्ट भएर राम्रो विकल्प दिन मौन सहमति दिन्छन् भन्ने देखिन्छ ।
मदन गोपाल गायक संगीतकार
नेपालको राजनीतिमा कलाकारहरुको प्रवेश त्यति धेरै नभएता पनि देशप्रतिको माया विश्वास लगाव अगाथ रहेको पाईन्छ । बालेनको उम्मेदवारी र मतपरिणामले के देखाउछ भने कलाकारहरुले चाहेको बेला बखत देश हाक्न सक्दा रैछन् जनताले विश्वास गर्दा रैछन् भन्ने सन्देश दिएको छ । संभवत बालेन शाहको विजय पछि निकट भविष्यमा धेरै कलाकारहरु स्वतन्त्ररुपमा नेपालको राजनीतिमा जोडिने सम्भावना रहन्छ की जस्तो लाग्दछ । एउटा कलाकारले जसरी दर्शक श्रोतालाई आफ्नो कलाको माध्यमबाट आनन्द दिन्छ । एउटा कलाकार देशको नेता भयो भने भ्रष्टाचार गर्दैन जस्तो लाग्छ । किनकी कलाकार भनेको सरस्वतीका पुत्र हो सरस्वतीको भक्त हो । देश विकासमा कलाकारको पनि ठूलो योगदान हुनेछ भन्ने सन्देश बालेनले दिएका छन् । परिआएको खण्डमा कलाकारहरुले पनि देश हाक्न सक्दछन् भन्ने उदाहरण हो बालेनको उम्मेदवारी ।
बानिका प्रधान लोकप्रिय गायिका
बालेन शाहको उम्मेदवारीप्रति एकदमै सकारात्मक छु । देशको विकाश समृद्धिका लागि नया पुस्ता स्पष्ट सोच भिजन भएका व्यक्तिहरु राजनीतिमा आउनुपर्छ । बालेनको उम्मेदवारी सम्पूर्ण विकास समृद्धि र सुशासन चाहने आमनागरिकको माग हो । देशमा अहिले पनि परम्परागत राजनितिक दल र त्यहि शैलीको राजनीति छ । हाम्रा नेताहरुले देशलाई त्यसरी नै चलाईरहेका छन् । पुराना परम्परागत राजनीतिक दल र दल समर्थित पाका उमेरका नेता र तिनको कार्यशैलीप्रतिको एककिसिमको विद्रोह हो बालेनको उम्मेदवारी । हरेक सचेत युवा शक्ति देशको र राजनीतिमा आउनु पर्दछ । देशलाई नयाँ सोच नयाँ विचार र कार्यशैलीबाट यदि कसैले परिवर्तन गर्न सक्छ भने त्यो सचेत युवा वर्गले नै गर्छ । बालेनको उम्मेदवारी यस्तै र यिनै प्रश्नहरुको उत्तर हो । बालेनको उम्मेदवारी र उनले पाएको मतले हामी सबैमा एउटा आशाको सञ्चार गराएको छ ।
मनोज चौलागाई लोकप्रिय संगीतकार
बालेन शाह र उनको उम्मेदवारीप्रति मेरो बुझाई आम काठमाडौंवासीको जस्तै सकारात्मक रहेको छ । नेपाली राजनीतिमा सचेत युवाहरुको प्रवेश अहिलेको आवश्यकता हो । बालेन फरक भिजन भएको देश समाजलाई केही नयाँ परिवर्तन गरौ भन्ने पढे लेखेको एक सचेत युवा हो । यस्तै सोच र विचार बोकेका युवाहरु देशको लागि चाहिन्छ बालेनलाई शुभकामना दिन चाहन्छु ।
कमल खत्री लोकप्रिय गाायक ,संगीतकार
बालेन शाहको उम्मेदवारीले मलाई एकदमै खुसी लागेको छ । नेपाली राजनीतिमा स्पष्ट विचार र योजना भएका व्यक्तिहरुको खाचो छ । बालेन शाहमा हामी त्यो विचार र योजना पाउछौ । एउटा कलाकारको नाताले उनी पनि कलाकार भएकोले म त अझ एकदमै खुसी, कलाकारले पनि ईमान्दारका साथ आट गरे राजनीतिमा एउटा उचाई लिन सक्छन् भन्ने उदाहरण पनि बालेनले पुष्टि गरेका छन् । देशलाई ईमान्दार नेताको खाचो छ बालेनलाई शुभकामना ।
अशोक थापा संगीतकार तथा संगीत संयोजक
अहिलेको चुनावमा पार्टी र हाम्रो भन्दा पनि राम्रो मान्छेलाई जनताले रुचाएको देखिएको छ । युवा पंक्तिलाई जनताले विश्वास गरेका छन् । बालेन शाह पनि एक सचेत र केही गरौ भन्ने सोच भएका युवा हुन् जस्तो लााग्दछ । चुनाव जिते पछि उनले गर्ने काम कस्तो हुन्छ त्यो हेर्न बाकी नै छ । उनीप्रति आम काठमाडौंबासीको मात्र नभएर सारा देशले नै आशा गरेको छ ।
प्रकाश मिश्र साउन्ड इन्जिनियर
बालेन शाहप्रति मेरो बुझाई आम काठमाडौंबासीको जस्तै रहेको छ । एक सचेत पढे लेखेको देश विदेश बुझेको केही गरौ भन्ने भावना बोकेको कुनै दलगत स्वार्थ नभएको व्यक्ति हो बालेन । यस्तै युवाहरुको खाँचो छ देशलाई । आशा गरौ काठमाडौंले एक योग्य र सक्षम व्यक्ति पाउनेछ ।
मनोज डंगोल संगीत संयोजक तथा लोकप्रिय रेकर्डिस्ट
मेरो समर्थन बालेन शाहप्रति व्यक्ति हेरेर भन्दा पनि उसको सोच शैली व्यवहार हेरेर रहेको छ । बालेनका जति पनि गतिविधिलाई मैले निर्वाचनको दौरानमा नियाले उसले चुनाव जिते पछि केही गर्छ भन्नेमा विश्वास्त छु । यस्तै सोच विचार देशलाई केही गरौ भन्ने भावना बोकेका युवाहरु अबको राजनीतिमा आउनुपर्छ र बालेनप्रति हामी सबैको आशा छ पक्कै पनि काठमाडौंलाई केही गर्छन ।