कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरिने भएको छ । गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गर्ने छिन्नलता गीत पुरस्कार गुठीले निर्णय गरेको हो ।
गुठीका अध्यक्ष प्राडा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले २०७६, २०७७ र २०७८ सालका छिन्नलता गीत पुरस्कार तथा सम्मानहरुका लागि विभिन्न साहित्यिक तथा साङ्गीतिक क्षेत्रका व्यक्तित्वहरुको नाम छनौट गरेको छ ।
२०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित सङ्गीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहुनभएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाउनेहुनु भएको छ भने विशेष सम्मान वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई गरिने गुठीले जनाएको छ ।
यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, सङ्गीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बाको नाम चयन भएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाउनुहुने छ ।
२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, सङ्गीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भू राई पुरस्कृत हुने गुठीले जनाएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाउने गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरस्कारहरूको वितरण २०७९ असार २६ गतेका दिन विशेष समारोहबीच गरिनेछ । सो दिन गुठीका संस्थापिका तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्ममिति पनि हो ।