नाटक ‘पल्पसा क्याफे’मा नायिका सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निभाउने भएकी छन् । अघिल्लो वर्ष यो भूमिका स्वस्तिमा खड्काले खेल्ने सार्वजनिक भए पनि उनको स्थान श्रेष्ठले लिने भएकी हुन्।
नाटक ‘पल्पसा क्याफे’ यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ। सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको सह–निर्देशनमा यो नाटक बन्न लागेको हो । उक्त नाटकको प्रदर्शन समय ढिला भएसँगै नाटक खेल्ने कलाकारमा पनि फेरबदल भएको छ ।
पल्पसा क्याफे’ का अर्का प्रमुख पात्र दृश्यको भूमिकाको भूमिका नाटक निर्देशक विमल सुवेदी आफैँले गर्ने भएका छन्। अर्का प्रमुख पात्र सिद्धार्थको भूमिका भने दिपेश राईले निभाउँदै छन् ।
भर्खरै ‘चिसो एष्ट्रे’ फिल्मको प्रदर्शन सकाएकी सृष्टिले यसभन्दा पहिला थिएटर भिलेजकै ‘ह्याम्लेट’ नाटकमा अभिनय गरिसकेकी छन्। विमल सुवेदीले भने ‘सान्दाजुको महाभारत’ ‘यार्मा’ ‘ह्याम्लेट’ ‘मालिनी’ जस्ता फरक डिजाइनका नाटक निर्देशनमार्फत आफूलाई चिनाएका छन्। लगभग १ दशकपछि पुनः अभिनयमा उनी फर्किदै छन्। भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा डिजाइन र डिरेक्सन अध्ययन गर्नुभन्दा पहिला विमल अभिनय र मोडलिङमा सक्रिय थिए।
नाटकमा सृष्टि र विमलका साथमा दिपेश राई, संगीता थापा, पूर्णिमा आचार्य, बच्चु हिमांशु, सरगम राई, ङिमा शेर्पा, जेनी सुनुवार, चक्र पुलामी, श्रवण सिंह राना लगायतका कलाकारको अभिनय रहनेछ।