
– विजयरत्न तुलाधर
नेपालमा चलचित्रको निर्माणको संख्या बढ्दै गई रहेको छ । त्यस्तै गरी प्राविधिक रुपमा पनि नेपाली चलचित्रको स्तर धेरै नै बढी सकेको छ । २०१८ सालमा “माइतीघर” अनि २०२० सालमा “आमा” को निर्माण शुरु हुँदादेखि यी दुबै फिल्म प्रदर्शनमा आए पछि पनि नेपालमा चलचित्र भनेको ब्ल्याक एण्ड ह्वाईट रिलमा मात्र बन्ने गर्दथ्यो । यी दुबै चलचित्र प्रदर्शनमा आएको एक दशकसम्म पनि चलचित्र ब्ल्याक एण्ड ह्वाइट रिलमा नै बने । यो अवधि भित्र परिवर्तन , हिजो आज भोलि , मनको बाँध जस्ता चलचित्र देशभित्रबाट र परालको आगो जस्ता चलचित्र देश बाहिरबाट बने । २०३४ सालमा आएर बल्ल पहिलो रंगीन चलचित्रको रुपमा “कुमारी” बन्यो ।
यो ५०–५२ को अवधीभित्र नेपाली चलचित्रको निर्माणले प्राविधिक रुपमा ठूलो फड्को पार गरीसकेको छ । ब्ल्याक एण्ड ह्वाइट रिलबाट कलर रिलमा बन्ने गरेका चलचित्रहरु अहिले अत्याधुनिक डिजिटल प्रविधिमा बन्न थालेका पनि एक दशक हुन लागिसकेको छ । यतिमात्र नभई चलचित्रमा प्रयुक्त हुने विषय वस्तु पनि बदलिंदै गई रहेको छ । यति हुँदै पनि नेपाली चलचित्रको प्रस्तुतिमा धेरै प्रयोग भने हुन सकेको छैन । विविध विधा समेटर चलचित्रहरु बन्न सकेका छैनन् । यसै क्रममा यहाँ केही यस्ता चलचित्रहरु बारे चर्चा गर्ने प्रयास गरीनेछ, जुन चलचित्रले पृथक प्रस्तुति दिने प्रयास गरेका छन् ।
५०–५२ को अवधीभित्र नेपाली चलचित्रको निर्माणले प्राविधिक रुपमा ठूलो फड्को पार गरीसकेको छ । ब्ल्याक एण्ड ह्वाइट रिलबाट कलर रिलमा बन्ने गरेका चलचित्रहरु अहिले अत्याधुनिक डिजिटल प्रविधीमा बन्न थालेको पनि एक दशक हुन लागिसकेको छ । यतिमात्र नभई चलचित्रमा प्रयुक्त हुने विषय वस्तु पनि बदलिंदै गई रहेको छ ।
|

डिजिटल प्रविधिको प्रवेश
आजभन्दा एक डेढदशक अगाडि सेलुलोयड भनिने रील प्रविधी नै चलचित्र निर्माणको एकमात्र उपयुक्त माध्यम हो भन्ने मान्यता कायम रहेको थियो । त्यस्तो बेला नेपालमा चलचित्र प्रदर्शनमा ठूलो फड्को मारेर देखाएको क्युएफएक्स डिसिएनको प्रयासमा निर्देशक भुषण दाहालले महंगो प्रविधी मानिने हाई डेफिनिशन (एचडि) को रेड क्यामराबाट “कागबेनी”बनाउने घोषणा गर्दा हाँसोको पात्र बन्नु परेको थियो । तर चलचित्र बनेर प्रदर्शनमा आउँदा भने प्रशंसाको विषय बन्न सफल भयो । यस पछि निर्देशक आलोक नेम्बाङ्गको निर्देशनमा बनेका “सानो संसार ” अनि निर्देशक सुदर्शन थापाको “मेरो एउटा साथी छ” पछि डिजिटल चलचित्रले आफ्नो पकड जमाउँदै लग्न थाल्यो । र अहिले नेपाली चलचित्र जगत सम्पूर्ण रुपमा डिजिटल भईसकेको छ ।
साहित्यिक कृतिमा चलचित्र
पहिलो नेपाली चलचित्रको रुपमा लिने गरिएको “आमा”का कथाकार दुर्गाप्रसाद श्रेष्ठ एक जना लब्ध प्रतिष्ठित साहित्यकार भएपनि सो चलचित्रको कथा भने कुनै प्रकाशित कथामा आधारित थिएन । तर पनि नेपाली चलचित्रको ईतिहाससँग साहित्यिक कृतिको सम्बन्ध पुरानै छ । किनभने चौंथौं नेपाली चलचित्रको रुपमा प्रकाशमा आएको “परिवर्तन”चलचित्रको कथा भने साहित्यकार जनार्दन समको “चेतना” शिर्षकको एउटा नाट्यकृतिमा आधारित थियो । यसरी शुरु भएको पर्दामा साहित्यिक कृतिको यात्रामा पछि दौलतविक्रम बिष्टको कृतिमा “सिन्दूर” , गुरुप्रसाद मैनालीको “परालको आगो” हुँदै बढ्न थाल्यो भने यसमा बालकृष्ण समको “प्रेमपिण्ड” , लक्ष्मीप्रसाद देवकोटाको “मुना मदन” , पारिजातको “शिरिषको फूल ” र विश्वेश्वरप्रसाद कोइरालाको “तीन घुम्ती”सम्म पुगेको छ ।
खेलकूदको कथा
विश्वको चलचित्र इतिहासलाई हेर्ने हो भने खेल र खेलाडीको कथामा धेरै राम्रा चलचित्रहरु बनेका छन् । तर नेपालमा त्यस्ता चलचित्रहरु बन्न सकेको देखिंदैन । अहिलेसम्मको कुरा गर्ने हो भने गोरखाको एक विकट जिल्लाका केटाहरुले फूटबल खेलमा देखाएको रुचीको कथा बोकेको “वल्र्ड कप ईन नेपाल” र क्रिकेट खेलमा आफ्नो भविष्य खोज्दै गरेका युवकको कथालाई लिएर बनेको “च्याम्पियन” बाहेक अरु चलचित्र बनेको छैन । हुनत डकुमेण्ट्री र शर्ट फिल्ममा भने सुनकली लगायतका केही प्रयास त भएका छन् तर व्यावसायिक चलचित्र भने अरु बन्न सकेको छैन ।
विज्ञान कथा
विज्ञान कथा अर्थात साईन्स फिक्शन भनेको हलिउडको सबैभन्दा प्रिय विषय बन्दै आई रहेको छ । हलिउडमा के कस्ता साइन्स फिक्शनहरु आए भन्ने कुराको चर्चा गरेर साध्य नै हुँदैन तर नेपालमा भने साइन्स फिक्शन फिल्म अहिले बन्न सकेको छैन भन्दा पनि फरक पर्ला जस्तो छैन । उसो त नेपालमा संधैं समस्याको रुपमा रहने गरेको बिजुली कटौतीको समस्यालाई मनन् गर्दै एक जमात विद्यार्थीहरुले ध्वनिबाट बिजुली निकाल्ने यन्त्र तयार गरेको कथामा आधारित “बिजुली मेशीन” शिर्षकको एउटा चलचित्र बनेको छ । तर त्यो चलचित्रले त्यति राम्रो प्रभाव भने छोड्न सकेन । नबिन अवालले निर्देशन गरेको यो चलचित्रको कथा विज्ञानमा आधारित भए पनि यो कुनै हलिउड साइन्स फिक्शनमा देखिने जस्ता विस्मयकारी दृश्यहरु भएको चलचित्र भने हैन ।
बायोपिक
कुनै पनि महान व्यक्तिको जीवन कथामा आधारित चलचित्रहरु पनि विदेशमा असंख्य बनेका छन् । नेपालको सन्दर्भमा चर्चा गर्दा आदिकवि भानुभक्तको जीवन कथामा आधारित “आदिकवि भानुभक्त” नै त्यस्तो पहिलो चलचित्र हो, जसलाई बायोपिक भन्न सकिन्छ । नेपाली चलचित्रको पाना पल्टाउने हो भने गायक भक्तराज आचार्यको जीवनीमा बनेको “आचार्य” पनि बायोपिक नै हो भने सर्वमान्य नेताको रुपमा कहिलिएका योद्धा गणेशमान सिंहको जीवन कथामा बनेको “वीर गणेशमान” पनि बायोपिक नै हो । यी चलचित्रहरु बाहेक सुदर पश्चिमका योद्धा भिमदत्त पन्तको जीवनीमा बनेको, “भिमदत्त” जस्ता केही चलचित्रहरु बायोपिकको रुपमा बनेका छन् । उसो त विश्वेश्वर प्रसाद कोईरालाको जीवनी पनि चलचित्र बनाउने योजना नबनेको हैन तर त्यस्ता योजनाहरु पुरा भएको देखिंदैन । अहिले बायोपिक चलचित्र बनाउनेहरुको संख्या भने बढ्दै गईरहेको देखिन्छ । यसै क्रममा प्रसिद्ध नाटककार बालकृष्ण सम , झमककुमारी देखिलिएर राजनैतिक नेताहरु के.पि. ओलि , मदन भण्डारी , मनमोहन अधिकारी र रुपचन्द्र बिष्ट का बायोपिक बनिरहेको छ । 
धार्मिक
नेपालमा अहिलेसम्म प्रकाशनमा आएका धार्मिक चलचित्रहरुमा “जयबाबा पशुपति नाथ” र “श्री स्वस्थानी” नै प्रमुख हुन् भन्नु पर्दछ । यी दुई चलचित्रहरु बाहेक नेपाली र नेपालभाषामा निर्माण भएको बुद्ध कालिन चलचित्र “पटाचारा” पनि धर्मसँग सम्बन्धित नै छन् भने यी बाहेक नेपालभाषामा बुद्ध कालिन कथामा अरु पनि केही चलचित्रहरु बनेका छन् । त्यस्ता चलचित्रहरुमा चाण्डालिका, कृषा गौतमी र सेरी बन्जा प्रमुख छन् ।
गीति चलचित्र
नेपाली र हिन्दी चलचित्रहरुमा गीत र नृत्यले एउटा ठूलो स्थान ओगट्ने गरेको छ । नाट््य जगतलाई हेर्ने हो भने गीतै गीत समाहित भएको नाटक अर्थात गीति नाटकको चलन बारे धेरैलाई जानकारी होला तर चलचित्रमा यसरी गीतै गीत समाहित गरी वा गीतहरुको आधारमा चलचित्रको कथा वाचन गर्ने चलन भने कतै चलेको देखिंदैन । नेपाली चलचित्रको चर्चा गर्दा विख्यात नृत्य निर्देशक बसन्त श्रेष्ठको निर्देशनमा “गौंथली” शिर्षकको एउटा चलचित्र बन्यो, जुन चलचित्रको कथा गीतको माध्यमबाट अभिव्यक्त गरिएको थियो । गीतकार डा. भोला रिजालले रचना गर्नु भएका गीतहरुको संगालो स्वरुप बनेको “गौंथली” नै अहिले सम्मको एउटैमात्र गीति चलचित्र हो । यस चलचित्रका संगीतकार शम्भुजित बास्कोटा हुन् ।
हरर/थ्रिलर
हरर विधाको चलचित्रको चर्चा गर्दा एक दशक जति अगाडि प्रकाशमा आएको “पाउजु” नै पहिलो प्रयास हो भन्नु पर्दछ । भारतबाट एस.कुमार नामक निर्देशक झिकाएर तयार पारेको हरर चलचित्रमा हुनु पर्ने सबै खालका दृश्यहरु समेटिए पनि यो चलचित्रले कुनै छाप भने छोड्न सकेन । यस पछि निर्देशक अशोक श्रेष्ठले “आत्मा” शिर्षकको एउटा हरर चलचित्र बनाए । हरर चलचित्रमा दर्शकलाई तर्साउन सक्ने गुण हुुनु जरुरी हुन्छ । त्यसको लागि ध्वनि र प्रकाशको उचित संयोजन पनि हुुनु पर्छ भने दृश्यलाई प्रभावशाली बनाउन कम्प्युटरको माध्यमबाट दृश्यलाई प्रभावोत्पादक बनाउन सक्नु पर्छ । अहिले प्रविधीको विकास उच्चत्तम अवस्थामा पुगी सकेको छ तर पनि नेपालमा विशेष प्रभाव छोड्ने खालको हरर चलचित्र भने बन्न सकेको छ । विशेष गरेर नेपाली चलचित्रहरु पूर्ण रुपमा हरर विधामा रहेर भन्दा थ्रीलर विधामा रहेर बन्ने गरेको पाईएको छ । यसरी थ्रीलर विधामा बनेका चलचित्रहरुमा “एक दिन एक रात” र “कागबेनी” पहिलो प्रयासहरु मध्ये पर्दछ । त्यसपछि त्यो दस घण्टा, भ्रम, झिंग्राना, आवरण, माला लगायतका चलचित्रहरु प्रकाशमा आई सकेका छन् ।
यसरी थोरै संख्यामा बन्ने गरेका हरर÷ थ्रीलर चलचित्रहरुमा पनि “सन्त्रास” नामक एउटा चलचित्र भने तयार भएको तीन चार वर्ष बिती सक्दा पनि दर्शक सामु आउन नसकेको चलचित्र हो ।
थ्री डि फिल्म
अहिले हलिउडमा मूलधारका प्रायः जसो व्यावसायिक फिल्महरु थ्री डिमा बन्ने गरेका छन् । यस्ता चलचित्रहरुले दर्शकहरुको मन पनि जितिरहेको छ । फिल्म निर्माणकोलागि विश्वमा ख्यातिमा कमाएको भारतमा भने थ्री डि फिल्महरु खासै बन्न सकेका छैनन् । बनेका थ्री डि फिल्महरुले खासै सफलता पाउन सकेका छैनन् । भारतमा बनेको पहिलो थ्री डि फिल्म “छोटा चेतन”हो । यो सन् १९८४ मा बनेको तमिल फिल्मको हिन्दी भर्सन हो भने पछि सन् १९९८ यहि चलचित्रको नयाँ भर्सन पनि आएको थियो । जस्मा उर्मिला मातोण्डकरको एउटा आईटम गीत पनि राखिएको थियो । यसै बीच “शिवाका ईन्साफ” र “सामरी”जस्ता फिल्महरुपनि त्यतिबेला थ्रीडि फिल्म बने भने पछि गएर “राज थ्रीडि”, “हण्टेड”जस्ता हरर फिल्महरु लगायत शाहरुख खान अभिनित “रा.वन”र “डन २” जस्ता फिल्महरु पनि थ्रीडिमा बने तर यी फिल्महरुका थ्रीडि भर्सनभन्दा पनि दुई आयामिक भर्सनलाई नै रुचाइएपछि बलिउडमा थ्रीडि फिल्म बनाउनेहरु हतोत्साहित भएको देखियो भने ऋतिक रोशनको “कृश २” लाई थ्रीडिमा बनाउने योजना परित्याग गरे । यसरी बलिउड समेतले हिम्मत गर्न नसके पछि नेपाली फिल्मतिर पनि थ्रीडि फिल्म बनाउने आँट गर्न नसकेको देखिन्छ । हालसम्ममा “भिजिलाण्टे”एउटा बाहेक अरु कुनै थ्रीडि फिल्म बनेको छैन । “पश्पतिप्रसाद” जस्तो पृथक स्वादको फिल्म बनाएका निर्देशक दिपेन्द्र के खनालले बनाएको “भिजिलाण्टे थ्रीडि”ले कुनै प्रभाव जमाउन नसकेपछि यसतर्फ अरु कसैले प्रयाससम्म पनि गरेको देखिएन ।

एनिमेशन
क्यामेरा वा कम्प्युटरको माध्यमबाट कृत्रिम पात्र खडा गरी बनाईने चलचित्र भनेको एनिमेशन चलचित्र हो । चलचित्रका अरु विधाहरुमा जस्तै यो विधामा पनि संसारभरी अनगिन्ती चलचित्र बनिसकेका छन् । तर नेपालमा भने यसतर्फ भर्खरैमात्र पहिलो प्रयास भएको छ । पूर्ण रुपमा एनिमेशन प्रविधीमा बनेको पहिलो नेपाली चलचित्र “द लिजेण्ड अफ शंखधर” हो । कुनै बेला नेपालमण्डलका जनताहरु ऋणमा डुबिरहेको अवस्थामा जनताको ऋण मोचन गरी दिएका साहु शंखधर साख्वाको जीवनीमा बनेको यो चलचित्र पूर्ण रुपमा रेखा चित्रलाई कम्प्युटरको माध्यमबाट चलचित्रमा रुपान्तरण गरिएको एनिमेशन चलचित्र हो । यो चलचित्रका निर्देशक संयुक्त श्रेष्ठ हुनुहुन्छ । यसरी पहिलो एनिमेशन चलचित्रको रुपमा तयार भएको “द लिजेण्ड अफ शंखधर” भन्दा अगाडि निर्देशक तुलसी घिमिरेले तथागत बुद्धको कथामा आधारित “बुद्ध” नामक चलचित्र निर्माण गर्ने योजना बनाउनु भएको थियो । उहाँले यस सम्बन्धी कार्य पनि अगाडि बढाई सक्नु भएको थियो । तर यो चलचित्र भने अहिले सम्म प्रकाशमा आउन सकेको छैन ।
यसरी नेपाली चलचित्रमा विविध विषय र शैलीमा चलचित्रहरु बन्ने गरेका छन् तर त्यस्ता चलचित्रहरुलाई चर्चा भने कमैमात्र हुने गरेको पाईन्छ ।